Sunday, March 31, 2013

४१ विद्यालयलाई एनसेलको ५ करोड


टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरबाट समुदायद्वारा सञ्चालित ४१ वटा सामूदायिक विद्यालयलाई रु ५ करोड सहयोग गरेको छ । एनसेलले २०११ देखि नै शिक्षा क्षेत्रलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमको उच्च प्राथमिकतामा राख्दै विद्यालय विकास तथा छात्राको शिक्षामा सहयोग गर्दै आएको छ ।

एनसेलले २०१३ मा पनि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत 'विद्यालयको अभिभावकत्व' कार्यक्रम मार्फत १८ वटा विद्यालयलाई सहयोग तथा १५ छात्राहरुलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

विद्यालयको अभिभावकत्व अन्तर्गत एनसेलले १८ वटा सामुदायिक विद्यालयलाई विद्यालय भवन, कक्षा कोठा निर्माण, शौचालय, खानेपानी तथा अन्य अत्यावश्यक सुविधा निर्माण, फर्निचर, शैक्षिक तथा खेलकुद सामग्रीहरु, विद्यालय क्षेत्रमा पर्खाल लगाउन आर्थिक सहयोग प्रदान गर्नेछ । यसका लागि एनसेलले २०१३ मा २ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सहयोग गर्ने भएको हो ।

Sunday, March 10, 2013

लोडसेडिङ कहिलेसम्म?


नेपालमा लोडसेडिङको समस्या नौलो होइन । बढ्दो लोडसेडिङले दैनिक जीवनदेखि उद्योग कलकारखानासमेत प्रभावित छन् । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि बनेका लोकतान्त्रिक तथा गणतान्त्रिक सरकार र राजनीतिक दलहरुले लोडसेडिङ कम गर्ने वा निर्मूल गर्ने र १० हजार मेगावट विद्युत उत्पान गर्ने भन्ने घोषणा गरेपनि अहिलेसम्म १० मेगावट मात्र पनि उत्पादन गर्न सकेका छैनन् ।

वर्तमान समयमा सञ्चालनमा रहेका जलविद्युत आयोजनाले क्षमताअनुसार विद्युत उत्पादन गर्न नसक्नु तथा सञ्चालनका लागि लाइसेन्स लिएकाहरुले योजना सञ्चालन नगर्दा मुलुकमा लोडसेडिङ समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।

सन् २००६ मा तयार पारिएको एक प्रतिवेदनअनुसार नेपालमा प्रतिव्यक्ति विद्युत उर्जा खपत ७० किलोवाट थियो । यसरी हेर्दा आगामी ३० देखि ४० वर्षमा नेपाल आजका विकसित देशको तहमा पुग्ने हो भने यो खपत ७० बाट १० हजारको सेरोफेरोमा पुग्नुपर्छ । अर्थात् विकसित देश बन्ने आकांक्षा राख्ने हो भने आउँदो ३० देखि ४० वर्षमा नेपाललाई ६० हजार मेगावटभन्दा बढी विद्युत आवश्यक पर्ने छ ।