Tuesday, May 28, 2013

व्यवसायसँगै सामाजिक काम


- लीला घिमिरे

काठमाडौं- व्यापार व्यवसायमा प्रतिस्पर्धा गरिरहेको व्यावसायिक प्रतिष्ठानहरु पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा पनि भिडिरहेका छन् । कम्पनीहरुले व्यवसाय गरिरहेको समाजप्रति उत्तरदायित्व पनि छ है भनेर स्वस्फूर्त रुपमा सहयोग गर्ने परिपाटी सीएसआर हो ।

यसमा कम्पनीहरुले आर्जित नाफाको केही हिस्सा समुदायलाई कुनै न कुनै रुपमा दिने गर्छन् । यसमा नगद, भौतिक सामग्री, छात्रवृति प्रदान गर्ने लगायतका काम गरिन्छ ।


पछिल्लो समय सनादेखि ठूला व्यवसायिक प्रतिष्ठानले सीएसआरमा नाफाको केही हिस्सा खर्च गर्न थालेका छन् । यसमा ठूला र धेरै नाफा गर्नेले धेरै र थोरै नाफा गर्नेले थोरै लगानी गर्छन ।

व्यवसायिक घरानामध्येको सबैभन्दा ठूलो चौधरी ग्रुपले सीएसआरमा लाखौं रकम खर्च गर्ने गरेको छ । यो समूहले शिक्षालाई प्राथमिकतामा राखेर यसको विकासमा रकम खर्च गरिरहेको छ । समता शिक्षालाई आर्थिक सहयोग गर्ने देखि  देशमा सबैभन्दा धेरै बिक्री हुने चाउचाउको नामममा सुरु गरेको वाईवाई ज्ञानज्योति छात्रवृत्ति वितरण गर्नेसम्मका सामाजिक काममा चौधरी समूहले वार्षिक लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ ।

सिजी फाउन्डेसन मार्फत उसले सीएसआरका कार्यक्रमलाई व्यवस्थित गर्दै आएको छ । केही समय अघिमात्रै उसले बंगलादेशको युनुस सेन्टरसँग मिलेर नेपालमा व्यवसायिकताको विकासका लागि सोसियल बिजनेस सञ्चालनका लागि दस लाख अमेरिकी डलरको कोष समेत स्थापना गरेको छ ।

खेतान समूहको गोर्खा ब्रुअरीले पनि सीएसआरमा वार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । उसले नवलपरासीस्थित उद्योग वरपरका समुदायमा र स्कुलका लागि मासिक ७५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । नेपाली खेलकुदलाई सहयोग र प्रवर्द्धन गर्न गोर्खा ब्रुअरीले नै भर्खरै मात्र सम्पन्न भएको सहिद स्मारक 'ए' डिभिजन लिग सञ्चालनका लागि ७५ लाख रुपैयाँको पुरस्कार प्रयोजन गरेको थियो ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 'खेल पर्यटन' सहित अन्य धेरै सामाजिक कार्यका लागि लाखौ रुपैयाँ खर्च गर्ने गरेको छ । सूर्य नेपालले आशा नामक अभियान अन्तर्गत शिक्षा, प्रकृति अभियान अन्तर्गत वनजंगलको संरक्षण र वृक्षरोपण, स्वास्थ्य अभियानमा पनि जनचेतना फैलाउने काम गरिरहेको छ । खेल पर्यटन अभियान अन्तर्गत सूर्य नेपालले प्रत्येक वर्ष नेपालमै सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल मस्टर्स गल्फ प्रतियोगिता आयोजना गर्छ ।

सरकारलाई सबैभन्दा धेरै कर तिर्ने मध्येका दूई दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेल पनि सीएसआरको मामिलामा अग्रपंक्तिमा छन् ।

मुलुकको निजी क्षेत्रअन्तर्गतको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले पनि सीएसआरअन्तर्गत मुलुकका विभिन्न क्षेत्रमा विभिन्न शीर्षक अन्तर्गतमा सामाजिक सेवा गरिरहेको छ । एनसेलले कर्पोरेट सिटिजन नाममा सामाजिम तथा वातावरणीय क्षेत्रका सकारात्मक परिवर्तन ल्याउनका लागि काम गरिरहेको छ ।

एनसेल सीएसआरअन्तर्गत सामाजका विभिन्न क्षेत्रमा काम गर्ने मुलुकका प्रमुख कम्पनीहरुमध्येको एक हो । उसले विगत तीन वर्षयता शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाले विद्यालयबाट गुणस्तरीय शिक्षा पाउन सकून् भन्ने उद्देश्यले एनसेलले सहयोग सुरु गरेको हो । उसले भौतिक संरचनामा ठूलो सहयोग गर्दै आएको छ । शिक्षाबाहेक एनसेलले चेलिबेटी बेचबिखन, वातावरणीय प्रदुषणका बारेमा समेत जनचेतना फैलाउँदै आएको छ । त्यसबाहेक नेपाली खेलकुद, साहित्य, गीत संगीत क्षेत्रमा पनि उत्तिकै सहयोग गर्दै आएको छ ।

एनसेलले मुलुकभरका ४१ वटा जिल्लाका ४१ वटा स्कुलमा सहयोग सुरु गरेको छ, जसबाट २५ हजार विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । यो प्रोजेक्ट सेभ द चिल्ड्रेनको सहयोगमा सुरु भएको हो ।

सीएसआरअन्तर्गत रहेर कम्पनीले स्कुलमा भौतिक पूर्वाधार, फर्निचर, स्टेसनरीलगायतका सहयोग गर्दै आएको छ । सन् २०१३ मा मात्रै १८ वटा स्कुललाई २ करोड ५५ लाख रुपैयाँ खर्च छुट्टाएको छ । यो रकम भवन, कक्षा कोठा, शौचालय निर्माण, खानेपानी तथा अत्यावश्यक सेवा-सुविधामा खर्च गरिनेछ । यसबाहेक २०१३ भरविद्यालयका लागिकरिब ५ करोड सहयोग गर्नेछ ।

त्यस्तै, एनसलले विभिन्न सामुदायिक विद्यालयमा डिजिटल लाइब्रेरीस्थापना पनि सुरु गरेको छ । १२ जिल्लाका १३ वटा विद्यालयमा स्थापना गरिने यस्ता पुस्तकालयबाट १० हजार १ सय ८६ विद्यार्थी लाभान्वित हुनेछन् । यो कार्यक्रमअन्तर्गत एनसेलले कम्प्युटर, आवश्यक सामग्री हेल्प नेपाल नेटवर्कको सहकार्यमा विद्यालयलाई प्रदान गर्नेछ । विगत तीन वर्षदेखि एनसेलले एसएलसी पास भएका गरिब तथा जेहेन्दार छात्राहरुलाई विशेष छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि विकट जिल्लामा आर्थिक अभावमा शिक्षाबाट बञ्चित भएका १५ छात्रालाई छात्रवृति प्रदान गर्ने भएको छ । स्नातक तहसम्मका लागि प्रतिविद्यार्थी ५ लाख रुपैयाँ प्रदान गरिने एनसेलले जनाएको छ ।

'चेलिबेटी बेचबिखनविरुद्ध एनसेलको आवाज' नामक कार्यक्रममार्फत उसले आर्थिकरुपमा कमजोर २३ महिलालाई सबल उद्यमी बनाउनका लागि उसले सहयोग गरिसकेको छ ।

त्यस्तै, ग्लोबल वार्मिङविरुद्ध सीएसआरअन्तर्गत एनसेलले मुलुकभर वातावरणमैत्री टावर निर्माण पनि थालेको छ । ग्रिन टेक्नोलोजी भनिने यस्ता टावरबाट कार्बन उत्पादन न्यून हुन्छ। कम्पनीले खेलकुद, साहित्यमा पनि उत्तिकै सहयोग गर्दै आएको छ । लिटरेचर फेस्टिभल २०११ र २०१२ सञ्चालन गरिसकेको छ भने खेलकुदतर्फ 'ए' डिभिजन फुटबल प्रतियोगिता, फुटबल प्लेयर अफ दि इयर अवार्ड, राष्ट्रिय महिला फुटबल टोली तथा एपीआर किक्रेट टिमलाई पनि स्पोन्सर गर्दै आएको छ ।

नेपाल टेलिकमले पनि शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक तथा सामुदायिक विकास, मानवीय सहयोग जस्ता क्षेत्रमा वार्षिक रुपमा ठूलो रकम खर्च गर्दै आएको छ ।

बैद्यज अर्गनाईजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भ्वइथ) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, गरिबी न्यूनीकरण, वातावरण संरक्षण र खेलकुदमा ठूलो रकम खर्च गर्छ । उसले आफ्ना उद्योग वरपरका समुदायमा स्कुल निर्माण गर्ने, शारिरीक रुपमा असक्षम र गरिब विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिरहको छ । उसले वार्षिक १७ जनालाई कृषि, चिकित्सा विज्ञान र इन्जिनियरिङ अध्ययनका लागि फिलिपिन्स पठाउने गरेको छ । सीएसआर अन्तर्गत उसले राजधानीका विभिन्न स्थानमा हरियाली सहितको यात्रु प्रतिक्षालय निर्माण गर्ने, नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन संघ, राष्ट्रिय निकुञ्जलाई सवारी साधन पनि प्रदान गरिसकेको छ । खेलकुदको प्रवर्द्धनक लागि पनि भ्वइथले अखिल नेपाल फुटबल संघ, टोयोटा गल्फ र हक्की प्रतियोगितालाई पनि सहयोग गरिरहेको छ ।

मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले पनि वार्षिक रुपमा उलेख्य रकम सीएसआरमा खर्च गर्ने गरको छ । आफु आधिकारिक वितरक रहेको स्कोडा गाडीको प्रवर्द्धनार्थ इसिमोडसँगको सहकार्यमा वातावरण संरक्षणको अभियानमा हात बढाएको छ । त्यसैगरी उसले सवारी चालक र त्यसमा पनि मोटरसाइकल चालकहरुलाई सुरक्षित रुपमा सवार गर्न उत्प्रेरित गर्नका लागि यामाहा सेफ राइडिङ साइन्स अभियान पनि प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ ।

युनिलिभर नेपाल, डाबर नेपाल, बोटलर्स नेपाल जस्ता बहुराष्ट्रिय र गोल्छा अगनाईजेसन,  लक्ष्मी इन्टरकन्टिनेन्टल, बतासजस्ता ठूला व्यवसायिक प्रतिष्ठान सीएसआरमा  अग्रपंक्तिमा आउँछन् ।
(नागरिकबाट)

No comments:

Post a Comment