Sunday, March 31, 2013

४१ विद्यालयलाई एनसेलको ५ करोड


टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरबाट समुदायद्वारा सञ्चालित ४१ वटा सामूदायिक विद्यालयलाई रु ५ करोड सहयोग गरेको छ । एनसेलले २०११ देखि नै शिक्षा क्षेत्रलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमको उच्च प्राथमिकतामा राख्दै विद्यालय विकास तथा छात्राको शिक्षामा सहयोग गर्दै आएको छ ।

एनसेलले २०१३ मा पनि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत 'विद्यालयको अभिभावकत्व' कार्यक्रम मार्फत १८ वटा विद्यालयलाई सहयोग तथा १५ छात्राहरुलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

विद्यालयको अभिभावकत्व अन्तर्गत एनसेलले १८ वटा सामुदायिक विद्यालयलाई विद्यालय भवन, कक्षा कोठा निर्माण, शौचालय, खानेपानी तथा अन्य अत्यावश्यक सुविधा निर्माण, फर्निचर, शैक्षिक तथा खेलकुद सामग्रीहरु, विद्यालय क्षेत्रमा पर्खाल लगाउन आर्थिक सहयोग प्रदान गर्नेछ । यसका लागि एनसेलले २०१३ मा २ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सहयोग गर्ने भएको हो ।



'यो सहयोगले विद्यालयमा विद्यमान पूर्वाधार र सामग्री अभावलाई हटाई राम्रो शैक्षिक वातावरण सिर्जना गर्नेछ जसले बालबालिकालाई उन्नत अध्ययन वातावरण प्रदान गर्नेछ । यसले विद्यालयलाई थप  विद्यार्थी लिन र रिटेन गर्न मद्दत पुग्नेछ' एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।
विद्यालयको अभिभावकत्व अन्तर्गत एनसेलले २०११ मा ६ वटा, २०१२ मा १७ वटा विद्यालयलाई सहयोग गरेको थियो । यो वर्षको सहयोग समेत समावेश गर्दा एनसेलले हालसम्म ४१ सामुदायिक विद्यालयलाई करिब ५ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

'विद्यालयको अभिभावकत्वमा एनसेलले विशेष गरी दीगो पूर्वाधार र शैक्षिक वातावरण निर्माणमा केन्दि्रत रहेर सहयोग गर्दै आएको छ । त्यसैले यो सहयोगले आगामी वर्षहरुमा समेत विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्नेछ' कोइरालाले थपिन् । विद्यालयको अभिभावकत्व कार्यक्रम एनसेलले सेभ द चिल्ड्रेन तथा अन्य स्थानिय गैर-सरकारी संस्था मार्फत लागू गर्दै आएको छ ।

विद्यालयको अभिभावकत्व कार्यक्रमको अलावा एनसेलले यो वर्ष १५ बालिकाहरुलाई उच्च शिक्षा हासिल गर्न ९ लाख रुपैयाँ छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ । बालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत एनसलले दुर्गम तथा ग्रामिण क्षेत्रका एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका तर  कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न असक्षम देखिएका १५ जना बालिकाहरुलाई स्नातकसम्मको शिक्षाको लागि प्रत्येकलाई ५ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । 'यो वर्ष एनसेलले प्रदान गर्ने ९ लाख रुपैयाँ यसै छात्रवृत्ति अन्तर्गतको यस वर्षको किस्ता हो'  कोइरालाले भनिन् ।

बालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत एनसेलले २०११ मा  कर्णालीका ५ जिल्लाका ५ छात्रालाई छात्रवृत्ति प्रदान गरेको थियो भने २०१२ मा अन्य ग्रामिण क्षेत्रका थप १० छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

यी दुई कार्यक्रमको माध्यमबाट एनसेलले यो वर्ष शिक्षा क्षेत्रमा २ करोड ६० लाख सहयोग गर्नेछ । यी दुवै कार्यक्रममा छनौट, सुपरिवेक्षण र रिपोर्टिङ्गको जिम्मेवारी सेभ द चिल्ड्रेनले निभाउदै आएको छ ।  यस बाहेक, एनसेलले २०११ र २०१२ मा १२ जिल्लाका १३ वटा विद्यालयमा डिजिटल पुस्तकालय समेत स्थापना गरेको थियो । जसले प्रत्यक्ष रुपमा १० हजारभन्दा बढी विद्यार्थीलाई लाभ पुर्‍याएको छ ।

No comments:

Post a Comment