Tuesday, January 22, 2013

यसरी जोगाऔं मोबाइल ब्यालेन्स



कमलकुमार बस्नेत

मोबाइल, गोजीमा नै अट्ने सञ्चारको साधन। हातमा लिएर यसो नम्बर डायल गरयो कि जहाँसुकै भएको मानिस होस् तत्काल कुराकानी गर्न सकिन्छ। सञ्चारको सजिलो साधन भएकाले यसको प्रयोग गर्नेको संख्या विश्वभर नै बढिरहेको छ। विश्वभर प्रयोगकर्ता बढेको यो उपकरण र सेवाको नेपालमा प्रयोगकर्ता नबढ्ने कुरै भएन। सस्तो हुँदै गएको सेवा र उपकरणसँगै यसको प्रयोग पनि सस्तो हुन थालेको छ। घरको तल्लो तला र माथिल्लो तलामा रहेका बीच नै मोबाइलमा कुराकानी हुन थालेको छ। यसले मोबाइल नेटवर्कलाई कति बिजी बनाएको होला? त्यो छुट्टै कुरा भयो। देशको अर्थतन्त्र र साधन स्रोतको दूरुपयोगको सवालमा पनि नजाऔं यसखालको मोबाइल प्रयोग र फोन गराइले तपाइँको व्यक्तिगत अर्थव्यवस्थामा भने भुइँचालो नै ल्याउन पनि सक्छ। विशेष गरेर प्रिपेड मोबाइल बोक्नेहरुका लागि मोबाइलमा गरिने रिचार्ज अनि घट्ने ब्यालेन्सले हैरान नै बनाउँछ। बिल पनि नआउने र रिचार्ज गरेको एकमुष्ट हिसाब पनि नहुने भएकाले मोबाइलमा भएको खर्चको हिसाबै हुँदैन। अर्थात् तपाइँको मोबाइलमा पैसा बेहिसाब खर्च भइरहेको हुनसक्छ। त्यसलाई घटाउनु तपाइँको लागि निक्कै मुस्किलको कुरा पनि हुनसक्छ। आउनुस मोबाइलमा अनावश्यक पैसा खर्च भएर हैरान हुनुभएका कालागि नचाहेको वा अनावश्यक सेवाका नाममा अञ्जानमै धेरै पैसा खर्च भइरहेकाहरुका लागि केही सुझाव बारे हामी चर्चा गरिरहेका छौं:


प्याकेज सेवा लिने

मोबाइल सेवा लिँदा सकेसम्म प्याकेज र्सर्भिस लिनमा जोड दिनुपर्छ। विभिन्न कम्पनीहरुले आफ्नो कल रेट र दर प्याकेजमा सस्तो पर्ने गरेर राखेका हुन्छन्। नेपालमा एनसेलले प्रो योजनामा व्यक्ति लक्षित गरेर प्रिमियम, प्लस र क्लासिक तीन प्याकेज ल्याएको छ। जसमा फोन, डाटा तथा एसएमएसमा सस्तो दरमा सेवा उपलब्ध हुन्छ।

मिल्नेसम्म रात्री वा विहानी सेवा लिने

प्रेमिका, घरबाहिर रहँदा श्रीमती तथा अध्ययनका लागि घर भन्दा टाढा बसेकाहरुले फोन गर्न परेको अवस्थामा सकेसम्म र मिलेसम्म रात्रीकाललाई छानेको खण्डमा सस्तो दरमा फोन गर्न सकिन्छ। लामो कुराकानी गर्न आवश्यक छ भने राती वा विहान ६ बजे भन्दा अगाडि नै फोन गर्ने। किनभने नेपाल टेलिकमले रात्रीकलको जम्मा ५५ पैसा प्रतिमिनेट मात्र लिन्छ। त्यसो त एनसेलले पनि ६९ पैसा प्रतिमिनेटको रात्रीकल राखेको छ। यसको प्रयोग गर्नुभयो भने तपाइँको गोजीको दाम धेरै नै जोगिन्छ। यो शुल्क भनेको दिनमा फोन गर्दा लाग्नेको झण्डै ३३ प्रतिशत मात्र हो।

आफन्तकै नेटवर्क

मोबाइल हुन त आफ्नो लागि लिने हो तर मोबाइल लिँदा तपाइँका आफन्तले कुन नेटवर्क बोक्छन् त्यही नेटवर्कको मोबाइल लिनु सबै भन्दा बुद्धिमानी हो। मानौं तपाइँले फोन गर्नुपर्ने आफन्तहरु नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन लिन्छन् भने तपाइँलाई नेपाल टेलिकमको मोबाइल फोन लिनु सस्तो पर्छ। यदी एनसेल बोक्ने धेरै छन् भने एनसेल नै लिनुपर्छ। जसले गर्दा आफन्तहरुलाई गर्ने फोनले धेरै पैसा चढाउँदैन। नेपाल टेलिकमको मोबाइल बोक्नेका लागि एनसेलको नम्बरमा फोन गर्दा र एनसेलको नम्बर बोक्नेले नेपाल टेलिकमको मोबाइल वा अन्य नम्बरमा फोन गर्दा धेरै शुल्क काटिन्छ। यदी फोनमा हुने खर्च जोगाउन छ भने आफन्तको नम्बर हेरेर धेरै फोन गर्नुपर्नेहरु कुन नेटवर्कको फोन भएका छन् त्यही नेटवर्कको फोन लिनुस्।

पल्स जानौं

फोन बोक्ने मानिसले त्यसमा फोन गर्दाको दरहरुबारे पनि सचेत र जानकार हुनु आवश्यक हुन्छ। तपाइँले लिनु भएको मोबाइल फोन सेवामा कल दर कस्तो छ भन्ने जान्नुपर्छ। मोबाइल सेवा प्रदायकले मिनेटको यति भनेर कुनै रकम तोकेर विज्ञापन गरेपनि त्यो मिनेटलाई सेकेण्डको दरमा पल्स राखेका हुन्छन् जसको आधारमा पैसा काटिन्छ। नेपाल टेलिकमले मोबाइलको कललाई ३० सेकेण्डको पल्समा बाँढेको छ। यसको मतलब हो एकरुपैंया ५० पैसा प्रतिमिनेट (दिनको समयमा लाग्ने महशुल, करबाहेक)को दरमा कुराकानी गर्नुभएको छ भने तपाइँले ३० सेकेण्ड भित्रमा कुराकानी सक्नुभयो भने तपाइँको ब्यालेन्स जम्मा ७५ पैसा (कर बाहेक) काटिन्छ।

एप इन्ष्टलमा सचेत

यतिखेर तपाइँहामी धेरैको मोबाइल स्मार्ट फोन भनिने कम्प्युटिङ सुविधा धेरै भएको फोन नै हो। जसमा हामीले अनेकन सफ्टवेयर जसलाई एप भनिन्छ हालिरहेका हुन्छौं। त्यस्ता एप डाउनलोड र इन्स्टल गर्दा त्यसले हरेक पटक चलाउँदा इन्टरनेट प्रयोग गर्छ वा गर्दैन भन्नेमा ध्यान दिन जरुरी हुन्छ। यदी तपाइँ कुनै एप डाउनलोड गर्दै हुनुहुन्छ भने इन्ष्टलका क्रममा इन्टरनेट प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई सचेत बनाउने अप्सन छान्नुपर्छ। यसो भएको खण्डमा आफ्नो जानकारी बिना मोबाइलमा डाटाको पैसा काटिँदैन।

नो अटोमेटिक अपडेट

मोबाइल फोनमा जीपीआरएस वा थ्रीजी चलाउँदा सफ्टवेयर तथा मोबाइलको अपरेटि सिस्टमका नयाँ अपडेट फाइलहरु डाउनलोड नगर्नुस। यसखालको अपडेट गर्दा ठूला फाइल डाउनलोड हुन्छन् र तपाइँको मोबाइलको ब्यालेन्स पनि धेरै सकिन्छ। सबै खालका एप वाइफाइ मार्फत इन्टरनेट चलाएको अवस्थामा मात्र अपडेट गरौं। जतिखेर पनि नो अटोमेटिक अपडेट। यसो गरेको खण्डमा मोबाइलको ब्यालेन्स घट्न कम हुन्छ।

आवश्यक सेवामात्र लिने

मोबाइल सेवा दिएका टेलिकम कम्पनीहरुले ग्राहकका लागि विभिन्न प्रकारका सेवा (योजना) ल्याइरहेका हुन्छन्। कतिपय सेवा चाहिँ झुक्किने खालका पनि हुन्छन्। सबै खालका सेवा लिनुपर्छ भन्ने छैन आफ्नो आवश्यकता हेरेर मात्र त्यस्ता सेवा लिनुपर्छ। सेवा लिनु अगाडि त्यसखालको सेवाबाट कसरी मुक्त हुने पनि जान्नुपर्छ। सामान्य प्रयोगकर्ताका लागि कलब्याक रिङटोन (सीआरबीटी), पर्सनल रिङब्याक टोन (पीआरबीटी), मिस्ड कल अलर्ट आवश्यक नै छैनन्। त्यसैले यस्ता सेवा नलिँदा नै राम्रो। दूरसञ्चार कम्पनीले यस्तो सेवा लिने तरिका सिकाउँछन् विज्ञापन गरेर तर हटाउने कसरी भन्ने थाहा नहुँदा जहिल्यै पैसा काटिइरहेको हुन्छ। त्यसैले यस्ता सेवा लिन भन्दा अगाडि विचार गर्नुपर्छ। एनसेलले विभिन्न योजनाका सीमकार्ड बेचिरहेको हुन्छ। राम्रो नम्बर, सजिलो ट्यारिफ, प्रो वा यस्तै जसमा कतिपय कल दर कम राखिएको हुन्छ। तर यस्तो प्याकेजमा जाने तरिका विज्ञापनमा हुन्छ तर त्यसबाट फर्कन सकिँदैन। जसले गर्दा विज्ञापन गरिएको सेवामा बाहेक अन्यमा थोरै शुल्कमा फोन गर्न सकिँदैन र धेरै पैसा काटिन्छ। त्यसखालको समस्याबाट जोगिन आवश्यक प्याकेज र सेवाका लागि मात्र जोड दिनुपर्छ।

 पोष्टपेड प्रयोग

मासिक दुईसय भन्दा कमको मात्र फोन गर्नुहुन्छ भने मात्र तपाइँका लागि प्रिपेड मोबाइल ठिक हो। तीनसय भन्दा माथि मासिक फोन गर्नेका लागि पोष्टपेड मोबाइल नै उपयुक्त हुन्छ। नेपाल टेलिकमको मोबाइलमा प्रिपेडका लागि प्रतिमिनेट एक रुपैंया ५० पैसा शुल्क छ भने पोष्टपेडमा एक रुपैंया मात्र। यदी पोष्टपेड मोबाइल लिनुभयो भने तपाइँको हरेक फोनको कुराकानी प्रिपेड भन्दा सस्तो पर्न जान्छ। यसको बिल आउने भएकाले तपाइँ अर्को महिना कम फोन गरेर खर्च जोगाउन वा कम गर्न सक्नुहुन्छ।

टुजी/थ्रीजी तथा वाईफाई

निशुल्क इन्टरनेटका लागि राखिएका वाईफाई जोनमा हुनुहुन्छ भने मोबाइलमा टुजी/थ्रीजी सेवा बन्द गर्नुहोस्। यसो गरेको खण्डमा तपाइँले जमघट वा पार्टी समयमा अपडेट गरेका स्टाटस र फोटोका लागि मोबाइल डाटा प्रयोग गर्न पर्दैन। जसले तपाइँको मोबाइलको ब्यालेन्स बचत हुन्छ। कतिपय स्मार्टफोनमा वाईफाई नेटवर्कमा कनेक्ट भएपछि स्वत टुजी र थ्रीजी मोबाइल डाटाको स्रोत बन्द गरिदिन्छन्। स्मार्टफोनमा रहेको त्यो अप्सन बारे पनि जानकार हुनुहोस्।

सामुहिक कल अप्सन लिने

मोबाइल सेवा प्रदायकले समुह भित्र हुने कलका दर कम गरेर सेवा दिइरहेका हुन्छन्। त्यसको बारेमा जानकारी लिएर त्यस्ता खालका सेवा लिनुपर्छ। नेपाल टेलिकमले पोष्टपेड मोबाइलमा ‘फ्रेण्ड एण्ड फेमेली’ कल सेवा दिइरहेको छ। जसमा आफन्त र परिवारको सिमित नम्बरमा सस्तो दरमा फोन गर्न सकिन्छ। त्यसै गरी एनसेलले पनि ‘माइ फाइभ’ भनेर पाँच मोबाइल नम्बरमा सस्तो दरमा फोन गर्न सकिन्छ। यस खालको सेवा लिँदा आफन्तलाई गरिने फोनमा कम मात्र पैसा खर्च हुन्छ।
साभार : doorsanchar.com

No comments:

Post a Comment