Thursday, January 3, 2013

सबैभन्दा धेरै डाउनलोड भए एङ्ग्री बर्डस र इन्स्टाग्राम


मोबाइल एप्स (एप्लिकेसनन्स)मा सबैभन्दा धेरै रुचाइएका एंग्री बर्ड, इन्स्टाग्राम तथा फेसबुक सन् २०१२ मा पनि सर्वाधिक डाउनलोड भएर अग्रस्थानमा परेका छन् । गत वर्ष स्मार्टफोन तथा ट्याब्लेटको व्यापार संसारभर नै उच्च भएपछि यस्ता एप्सको प्रयोग पनि धेरै भएको हो । यिनै एप्स गत वर्षका चर्चित साइटसमेत बन्न सफल भएका छन् ।
रिसर्च एजेन्सी फ्लरीका अनुसार उपभोक्ताले हरेक दिन औसत दुई घण्टा यी एप्स प्रयोग गरेका छन्, जुन २०११ को भन्दा ३५ प्रतिशतले बढी हो । २०१३ मा यो संख्या अझै बढ्नसक्ने अनुमान उसको छ ।

एप्स प्रयोगमा सन् ०१२ उपभोक्ताको दृष्टिकोणले ‘टिप्पिङ प्वाइन्ट’ बनेको मोबाइल मार्केटिङ कम्पनी फिस्कुका उपाध्यक्ष क्रेग पल्लीले बताए । “यो अवधिमा उपभोक्ताहरू नयाँ एप्सप्रति निकै उत्सुक देखिएका छन्,” उनले भने, “दिनानुदिन रूपमा मानिसको उत्सुकता र जागरुकता बढेको छ ।”
समूहगत रूपमा हेर्दा गत वर्ष सामाजिक सञ्जालहरू सर्वाधिक रुचिकर विषय बन्न पुगे । यो अवधिमा मिडिया प्लेयर, फोटो सम्पादन एवं गेमसम्बन्धी एप्स पनि उपभोक्ताको रुचिमा परे । पल्लीका अनुसार यूट्युब र एंग्री बर्डस् क्रमशः स्वतन्त्र तथा एप्पलको एप्स स्टोरमा धेरै पैसा तिर्ने एप्स बन्न पुगेका छन् । गत वर्ष आएका अन्य धेरै एप्सले छोटो समयमा नाम र दाम कमाएको पल्लीले बताए ।

फेब्रुअरीमा सार्वजनिक भएर छोटो समयमै चर्चाको शिखरमा पुगेको एप्स ‘ड्र समथिङ’ हो । आइप्याड तथा एन्ड्रोइड फोनमा यो खेलले वर्षभरि अधिपत्य कायम गरिराख्यो । अहिले पनि यो खेल सर्वाधिक डाउनलोड हुने दोस्रोमा पर्छ । किनेरै डाउनलोड गर्नुपर्ने भए पनि यसको लोकप्रियतामा कुनै कमी आएको छैन ।
आइफोन, एन्ड्रोइड र किन्डल फायरमा संगीत खोजीका लागि प्रयोग हने ‘सोङ्जा’ले अमेरिका तथा क्यानडाजस्ता मुलुकमा उल्लेखनीय बजार लिएको छ । यो एप्लिेकेसन ती क्षेत्रमा निःशुल्क डाउनलोड हुनेमा अगाडि छ । आइप्याडको स्केचबुक एप ‘पेपर’ पनि उत्कृष्ट एप्सको सूचीमा परेको छ ।
“उपभोक्ताहरू नयाँ–नयाँ एप्सको खोजीमा छन्,” पल्ली भन्छन्, “उनीहरू प्राविधिक रूपमा परम्परागतभन्दा नयाँ ढंगबाट अगाडि बढ्न चाहने भएकाले माग पनि नयाँ–नयाँ बन्दै गएको छ । जसरी मानिस हरेक क्षेत्रमा नयाँ स्वाद खोज्छ, त्यसरी नै एप्स बजारमा पनि नयाँ र आधुनिक एप्सको माग बढ्दै गएको छ ।”
सुरुमा उपभोक्ताको ध्यान निःशुल्क एप्सतिर गए पनि प्रविधिको विकासक्रमसँगै उनीहरू महँगा एप्स खरिद गर्न तयार देखिएको अध्ययनकर्ताको निष्कर्ष छ । उनीहरू स्मार्टफोन वा आइफोनजस्ता आधुनिक फोनलाई ‘डिजिटल वालेट’का रूपमा प्रयोग गर्न चाहन्छन् ।
२०१२ मा विश्वभरि विभिन्न गतिविधि भएका कारण पनि यस्ता एप्सको प्रयोग धेरै भयो । ओलम्पिक खेल, अमेरिकाको राष्ट्रपतीय निर्वाचन, अमेरिकाकै आँधी ‘स्यान्डी’का बेला त्यस्ता एप्स बढी प्रयोग भए, जसबाट उनीहरू हरेक क्रियाकलापको जानकारी छोटो समयमै पाउँथे ।
(स्रोतः कारोबार दैनिक)

No comments:

Post a Comment