Wednesday, January 9, 2013

स्विचिङ सेन्टर र अनलाइन मिडिया


विजय श्रेष्ठ –
अहिले नेपालका ब्लगिङमा तीनथरी ताता विषय छन्- एउटा देशव्यापी बलात्कारका घटनाको ‘विश्लेषण’, अर्को पत्रकार हत्या र तेस्रो एनसेलको डाटा सेन्टरमा भारतीय गुप्तचर ‘रअ’को स्वार्थ। तीनैका विषय नितान्त फरक हुन् तर नेपालको ब्लगिङमा देखिएका पछिल्ला प्रवृत्ति केलाउन यी विषय पर्याप्त छन्।बलात्कार र हत्या सामाजिक परिघटनाका दृष्टान्त हुन्, यसमा वस्तुगत विश्लेषण हुन सक्दैन।समाजलाई हेर्ने र बुझ्ने विषयमा हरेक मान्छेले आ-आफ्नो दृष्टिकोण बनाउन सक्छन् र यी घटनामा पनि त्यही लागू हुन्छ। सामाजिक सञ्जालका माध्यमले बलात्कारविरोधी अभियान नै सुरु भएको छ, जसले कमसेकम सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ। पत्रकार डेकेन्द्र थापालाई ज्युँदै पुर्नेजस्तो मानवताविरोधी गतिविधिको पनि चर्को विरोध भइरहेको छ। यीसम्बन्धी ब्लगिङले सबैका ध्यान तानेका छन्।

data center_switching center_Ncell_Raw_Data record_Nepal Telecom Sector News on PTI
भारतीय मिडियामा आएको प्रेस ट्रष्ट अफ इण्डियाको समाचार।
त्यसबाहेक अर्को तातो विषय हो, एनसेलले बनाइरहेको स्विचिङ/डाटा सेन्टर (डिजास्टर रिकभरी साइट वा मिरर साइट)। यो विषय विगत एक महिनादेखि पटकपटक ब्लगमा प्रकाशित भइरहेको छ। यसमा एउटामात्रै तर्क उठाइएको छ- चिनियाँ कम्पनी (जेडटीइ) जोडिएकाले यस्तो डाटा सेन्टर भारतविरुद्ध प्रयोग हुनसक्छ। भारतीय गुप्तचर संस्था ‘रअ’ले विदेश मन्त्रालयलाई सचेतना अपनाउन दिएको सुझाव भन्दै पीटीआई, द हिन्दूलगायतले समाचार प्रकाशित गरेपछि नेपालका केही (गुमनाम) ब्लग र वेबसाइट (जो कहिल्यै सुनिँदैनन्)ले ठूलो मसला पाएजसरी यसलाई उठाए, जबकि उनीहरुले एउटा भरपर्दो स्रोत पनि उल्लेख गर्ने चेष्टा गरेनन्। ‘बताइन्छ’, ‘स्रोत बताउँछ’, भनेर समाचार उठान गर्दा त्यसको विश्वसनीयता कतिसम्म हुन्छ भनेर पनि हेरिएको छैन।
 नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण क्षेत्रका रूपमा चिनिन्छ। अझ राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्र हो, यसले निम्त्याउने खतराका बारेमा पनि धेरै जानकार छन्। भूकम्प आएको अवस्थामा के गर्ने भन्नेमा सामान्यबाहेकको तयारी गरिएको छैन। राजधानीको भौतिक संरचना हेर्दा बिरामीलाई अस्पताल लैजाने, घाइतेको उद्धार गर्न पनि हम्मे-हम्मे पर्नसक्ने अवस्थाबारे धेरै जानकार छन्। यस्तो अवस्थामा सञ्चार नै बिच्छेद भयो भने के गर्ने?
भूकम्प तथा कुनै दैवी विपत्ति पर्‍यो र मोबाइल सेवा अवरुद्ध भयो भने सम्बन्धित सेवाप्रदायकका विभिन्न स्विचिङ सेन्टरले तत्काल सेवा दिन सक्छन्।यस्ता सेन्टर भूकम्पीय जोखिमयुक्त क्षेत्रदेखि कम्तीमा २०० किमिको दूरीमा हुनुपर्ने मापदण्ड छ। देशकै ठूलो र पहिलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले मुख्यालयबाहेक अन्त कहीँ पनि यस्तो ब्याकअप (डाटा सेन्टर) राखेको छैन। निकट भविष्यमै भैरहवा र काठमाडौंमा स्विचिङ सेन्टर बनाउने तयारी भने गरिरहेको छ।सरकार स्वयंले पनि धेरै पहिलेदेखि राष्ट्रिय आपकालीन दूरसञ्चार योजना ल्याउने भने पनि अहिलेसम्म टुंगो लागेको छैन।
दूरसञ्चार सेवाप्रदायकका कुनै पनि डाटा सेन्टरले मोबाइलका तथ्यांक (सिमको फर्म भर्दा उल्लिखति विषयमात्र) सुरक्षित गर्छन् र मोबाइल सेवा अवरुद्ध हुनबाट जोगाउँछन्।गत वर्ष असोजमा काठमाडौंलगायत देशका विभिन्न स्थानमा महसुस गरिएको भूकम्पको धक्कापछि मोबाइललगायतका थुप्रै सेवा अवरुद्ध भएका थिए। यस्तो अवस्थामा स्विचिङ सेन्टरको भूमिका महत्वपूर्ण हुन्छ।
अहिले पनि कुनै भीडबाट कसैलाई कल गर्न खोज्दा रेडियो फ्रिक्वेन्सीमा हुने जामले फोन लाग्दैन।यस्तो बेला एकैपटक कल गर्न गाह्रो हुन्छ।यदि फोन लागिहाल्यो भने पनि आवाज प्रष्ट नसुनिने, एसएमएस पनि नजाने समस्या हुन्छ।डाटा सेन्टरले मुख्यतयाः यही जाम हुन दिँदैन।सेन्टरको क्षमताअनुसार एक सेकेन्डमै कम्तीमा पनि ५ सय वटा एसएमएस आदान-प्रदान गर्न सकिन्छ।सञ्चारमा दुवै पक्ष एकैपटक उपलब्ध नहुने अवस्थामा पनि एसएमएसको भूमिका महत्वपूर्ण हुन जान्छ।ठूलै भूकम्प जाँदा सबै प्रकारका सेवा अवरुद्ध हुन सक्छन् र मोबाइलबाट कुराकानी सम्भव नहुन सक्छ।तर, एसएमएस भने स्विचिङ सेन्टरमा सुरक्षित हुन्छन्।पहिलो पक्षले एसएमएस पठाएपछि पनि तथ्यांक सुरक्षित हुने भएकाले थोरै समय पछाडि भए पनि दोस्रो पक्षसँग सन्देश पुग्छ।
 केही वर्षघि हेइटीमा आएको भूकम्प र त्यसले निम्त्याएको विध्वंशमा समेत स्विचिङ सेन्टरकै कारण सञ्चार सम्भव भएको थियो।स्विचिङ सेन्टर धेरै स्थानमा निर्माण गरिनुको कारण पनि यही हो।एनसेलले अहिले काठमाडौं र विराटनगर पोखरा सेन्टरबाट सेवा सञ्चालन गरिरहेको छ।पोखरा र हेटौंडामा निर्माणका अवस्थामा रहेका स्विचिङ सेन्टरहरु पूर्ण रुपमा आपतकालीन अवस्थाको तयारी हो।विराटनगर पोखराका सेन्टर रहेका भवन आपतकालीन अवस्थाका लागि उपयुक्त नभएका अर्न्तराष्ट्रिय मापदण्डअनुसारका स्विचिङ सेन्टरहरु निर्माण गरिरहेको हो।सरकारको एकमात्र जीआईडीसी (सरकारको एकीकृत डाटा सेन्टर)को पनि अहिलेसम्म ब्याकअप छैन। भूकम्पकै कारण जीआरडीसी ध्वस्त भयो भने त्यहाँ राखिएका सबै सरकारी तथ्यांक नष्ट हुन्छन्।
एनसेलको पोखराको डाटा सेन्टर।
एनसेलले भन्ने गरेको पोखराको स्विचिङ सेन्टर, यसलाई एनसेलको पोखराको डाटा सेन्टर भन्ने गरेको पाइन्छ। तस्विर सौजन्यः एनसेल
आपतकालीन अवस्थाका लागि निजी क्षेत्रले पहिलो पटक यस्तो डाटा सेन्टर बनाउन लागेको हो । यसलाई कल रेकर्डको रूपमा अर्थ्याएर भ्रम सिर्जना गरिएको छ।डाटा सेन्टरले भ्वाइस रेकर्ड गर्छ भन्नुमै पनि सत्यता छैन।गत सातामात्रै एउटा ब्लगले ‘एनसेलले विगतदेखि नै अर्न्तराष्ट्रिय एजेन्सीहरुलाई सूचना उपलब्ध गराउँदै आएको चर्चा चलेको र त्यसका लागि डाटा सेन्टर मार्फत कलहरु रेकर्ड गरी ‘रअ’लाई उपलब्ध गराउने’ उल्लेख गरेको छ।तर, एनसेलले कुन एजेन्सीलाई सूचना उपलब्ध गराउँथ्यो भन्नेमा ब्लगले कुनै प्रकारको प्रमाण पेस गरेको छैन।
यदि चिनियाँ कम्पनी जेडटीइले हार्डवेयर र त्यसका लागि आवश्यक सफ्टवेयरहरु उपलब्ध गराउँदै आएको छ भने त्यसैको प्रयोग गरी भारतीय कम्पनीलाई बेच्नुपर्ने आवश्यकता किन? जबकि भारतीय लगानीमा यूटीएल नेपालमै सञ्चालित छ भने विदेशी कम्पनीको लगानी रहेको एनसेलसँगको सहकार्य किन गरिनुपर्थ्यो? भारतले आफ्नै देशको लगानी रहेको यूटीएललाई प्रभावकारी बनाई त्यसैबाट सबै प्रकारका सूचना लिन सक्छ। एकातिर भारतीय मिडियाले नेपालका दूरसञ्चार सेवाप्रदायक चिनियाँ स्वार्थमा प्रयोग भइरहेको दाबी गर्छन्, अर्कातिर नेपाली अनलाइन मिडियाहरु भारतीय एजेन्सीलाई नेपालीले सूचना बेचेको समाचार लेख्छन्। यी दुईबीचको तादात्म्यता कसरी जोड्ने?
अपुष्ट, अज्ञात र आधारहीन तर्कले लेखिने खबरले समग्र पत्रकारिताको खिल्ली उडाउँछ।पत्रकारको न्यूनतम धर्म भनेको कुनै पनि कुरालाई पुष्टि हुने गरी प्रमाण पेश गर्नु हो।खासगरी अनलाइन र ब्लगहरु पटक-पटक यस्तो धर्मबाट च्यूत हुँदै आएका छन्।यसले अनलाइन पत्रकारिता र ब्लगिङको विश्वसनीयतामै प्रश्न उठाउँछ। अहिले नसोचे कहिले सोच्ने?
(श्रेष्ठ, दूरसञ्चार विषयमा अध्ययन गरिरहेका विद्यार्थी हुन्।)
Source : http://doorsanchar.com 

No comments:

Post a Comment