Thursday, February 7, 2013

नेपालमा बनेका सफ्टवेयर र एप्लिकेसन विश्व बजारमा

कुनै जमानामा निर्यात बढाउन धान चामल निकासी कम्पनी खोलेको नेपालले अहिले चामल आयात गरिरहेको छ। धान चामलजस्तै अरु निर्यातयोग्य वस्तुको सूची वर्षेनी घट्दो छ। तर यही बेला निर्यात गरेर आम्दानी गर्न सकिने नयाँ-नयाँ सम्भावनाका ढोका भने खुल्दैछन्। 
नेपालीले आम्दानी गर्न सक्ने यस्तै सम्भावना बोकेको क्षेत्र हो-सूचना प्रविधि। 'मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकास नै सबैभन्दा उपयुक्त टुल हो,' नेपाल उद्योग वाणिज्य महासंघका सूचना प्रविधि समितिका संयोजक एवं कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लपमान सिंह प्रधान भन्छन्, 'हामीले सूचना प्रविधिसम्बन्धी काम गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौँ।' 
नेपालभित्र सञ्चालनमा आएका केही कम्पनीका उदाहरणले सूचना प्रविधि क्षेत्र आम्दानीको राम्रो स्रोत बन्ने देखाएका छन्। अमेरिकी कम्पनी डिटुहकाई (भर्सेक इन्टरनेसनल) यसको गतिलो उदाहरण हो। यसको नेपाली कम्पनी डियरवाक इन्टिच्युटले नेपाली जनशक्ति प्रयोग गरेर अमेरिकाका लागि सफ्टवेयर बनाइरहेको छ। 

म्याकेन डिजिटल, जिइओ स्पेसल, डिज्नेल्यान्डलगायत कम्पनीहरु पनि सफ्टवेयर र एप्लिकेसनहरु निकासी गर्ने कम्पनीको सूचीमा आउँछन्। 'हाम्रो जस्तो भौगोलिक अवस्थिति भएको मुलुकले हात हाल्ने भनेकै सफ्टवेयर, आउटसोर्सिङ, कल सेन्टर, बिजनेस प्रोसेस आउटसोर्सिङ(बिपिओ)मा हो,' प्रधान भन्छन्, 'यसको सम्भावना प्रचुर छ।' 
सानो कोठामा केही कम्प्युटर राखेर विदेशका तथ्यांक राख्ने काम गर्ने कल सेन्टर नेपालभित्रै धेरै खुलिसकेका छन्। कम्प्युटरमा केही ज्ञान भएका जनशक्तिलाई काममा लगाउँदै विदेशका तथ्यांक राखेर राम्रै कमाउने समूहको संख्या वर्षेनी बढ्दो छ। 
नेपालभित्रै बनेका सफ्टवेयर र विभिन्न एप्लिकेसनहरु अहिले विश्व बजार छिरिसकेका छन्। गुगलको एन्ड्रोइड र एप्पलको अपरेटिङ सिस्टममा आधारित मोबाइलमा चल्ने एप्सहरु बनाउने नेपाली कम्पनी प्रशस्त भइसकेका छन्। 'युवा पुस्ताको जाँगर र मेहनतले गर्दा विश्वबजारमा नेपाली एप्सहरु पुग्न सफल भइसकेका छन्,' प्रधानले भने, 'यसलाई संस्थागत गर्न र व्यापारको रुप दिनलाई सरकारी पहल जरुरी छ।' 
सूचना प्रविधिमा आधारित उद्योगबाट आम्दानी हुनसक्ने र निर्यातको प्रचुर सम्भावना देखिएर सरकारले तीन वर्षअघि सार्वजनिक गरेको एकीकृत व्यापार रणनीतिमा यो क्षेत्रलाई तुलनात्मक लाभकोरुपमा लिएको छ। सरकारले १९ वस्तु र सेवा क्षेत्रको सूचीमा यसलाई प्राथमिकतामा राखेको छ। 
सूचना प्रविधि क्षेत्रमा अदक्ष देखि दक्ष जनशक्तिको संख्या बढ्दै गएको छ। मुलुकभित्र स्थापना भएका कम्प्युटर इन्जिनियरिङ कलेज र कम्प्युटर इन्स्टिच्युटबाट दक्ष र अदक्ष कामदार उत्पादन भइरहेका छन्। यस्ता संस्थाबाट उत्पादित धेरै जनशक्ति विदेशिएका छन् भने केही सफ्टवेयर उत्पादन र कल सेन्टरमा काम गरिरहेका छन्। नेपाली जनशक्ति विदेशमा योग्य हुने गरेकाले पनि सूचना प्रविधि सम्भावित क्षेत्र बनेको हो। 
व्यवसायीहरुका अनुसार नेपालबाट धेरैथरी सूचना प्रविधि सामग्री निकासी भइरहेका छन्। वेब सोलुसन, सफ्टवेयर, ई-बिजनेस, कल सेन्टर, ग्राफिक्स, एप्लिकेसन, बिपिओलगायत सेवा निकासी भइरहेका हुन्। तर, यस्ता सामान उत्पादन गर्न राम्रो ब्यान्डविथ आवश्यक छ। यी उत्पादन युरोपेली मुलुक, अमेरिका, जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड निकासी भइरहेका छन्। 
केही कम्पनीले मात्र भारतलाई लक्ष्य गरी सफ्टवेयर उत्पादन गरिरहेको उद्योग मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपाली र भारतीय कम्पनीको सहकार्य गरी यस्ता सामान उत्पादन गर्न सके नेपालले धेरै फाइदा लिन सकिने जनाएको छ। नेपालबाट विदेश निर्यात हुने यस्ता सेवाको यकिन तथ्यांक सरकारसँग छैन। विघटित सूचना प्रविधि आयोगले एक वर्षअघि दिएको तथ्यांकअनुसार नेपालबाट वार्षिक १ करोड डलरबराबरको सूचना प्रविधि सेवा निर्यात हुने गरेको छ। 
'मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनु जरुरी छ,' विघटित सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराई भन्छन्, 'यसका साथै सरकारी सेवालाई पनि सूचना प्रविधिमा आधारित बनाउनुपर्छ।' विश्वमा भएका प्रविधि विकासको गतिले नेपालाई चाहेर नचाहेर डोर्यााइरहेको छ। यसले सूचना प्रविधि क्षेत्रको आम्दानीमात्र बढाएको छैन, प्रत्यक्ष-अप्रत्यक्ष रोजगारीसमेत वृद्धि गरिरहेको छ।
'सुशासनका लागि पनि सूचना प्रविधि विकास आवश्यक छ,' भट्टराई भन्छन्, 'सुशासन भए लगानीकर्तासमेत आकर्षित हुन्छन्।' भट्टराई अलिकतिमात्रै सरकारी सेवा चुस्त दुरुस्त भएमा नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी ओइरिने दाबी गर्छन्। 'लगानीकर्ताले सुशासन र लगानी सुरक्षा चाहन्छन्,' उनले भने, 'यसको प्रत्याभूति गर्न सकेमा लगानी आइहाल्छ।'
सूचना प्रविधि विकासले मुलुकलाई समृद्ध बनाउँछ भन्ने उदाहरण छिमेकी भारत र चीनलाई लिन सकिने विज्ञहरु बताउँछन्। सन् २००० ताकासम्म खासै सूचना प्रविधि विकास गर्न नसकेको भारतले अहिले अप्रत्यासितरुपमा आर्जनको माध्यम बनाएको छ। भारतीय वाणिज्य विभागले जुलाई २०१२ मा निकालेको तथ्यांकअनुसार अहिले भारतको कुल ग्राहस्थ उत्पादन(जिडिपी)मा सूचना प्रविधि क्षेत्रको योगदान ७.५ प्रतिशत पुगेको छ। सन् २००० ताका भारतको जिडिपीमा सूचना प्रविधि क्षेत्रको योगदान १ प्रतिशतभन्दा कम थियो।
भारतमा टेलिकम्युनिकेसन क्षेत्रले मात्र जिडिपीमा ४ प्रतिशत योगदान गरेको छ। सूचना प्रविधि विकासमा लागेको भारतले यसको सेवा व्यापारमार्फत वार्षिक करिब ५० विलियन अमेरिकी डलर बराबरको सफ्टवेयर, बिपिओ, आउटसोर्सिङलगायतको सेवा निर्यात गर्छ। सूचना प्रविधिमार्फत भारतले वार्षिक करिब १ सय विलियन अमेरिकी डलर आम्दानी गरिरहेको छ।
विश्वकै सूचना प्रविधि हबकोरुपमा विकास हुँदै गएको भारतमा प्रत्येक वर्ष करिब २३ हजारले यस क्षेत्रमा रोजगारी पाउँछन्। भारतको सूचना प्रविधि उद्योगमा सूचना प्रविधि सेवातर्फ ५२.२७ प्रतिशत, बिपिओतर्फ १९.६५ प्रतिशत, हार्डवेयरतर्फ १३.४ प्रतिशत र अनुसन्धान र विकासतर्फ १४.६५ प्रतिशत उद्योग रहेका छन्। बैंलोर, हैदराबाद, चेन्नाई, कलकत्ता, दिल्ली, मुम्बई, पुने, कोचीलगायत सहरहरु भारतको सूचना प्रविधि हब बनिसकेका छन्।
हार्डवेयर होइन, सफ्टवेयर र सेवा
विज्ञहरुका अनुसार नेपालको भौगोलिक अवस्था र आर्थिक क्षमताअनुसार हार्डवेयर भन्दा सफ्टवेयर र सेवा क्षेत्रमा विकास गर्दा लाभ बढी लिन सकिन्छ। 'हाम्रो अनुसन्धान र विकास एकदमै कमजोर छ, यसमा लगानी गर्ने क्षमता पनि छैन,' विघटित सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराईले भने, 'हामीले गर्न सक्ने भनेकै सफ्टवेयर विकास हो।'
सफ्टवेयर विकाससँगै नेपालीले विभिन्नखाले सूचना प्रविधि सेवामा लगानी गरेर आर्जन गर्न सक्नेछन्। कल सेन्टर जस्ता विदेशी डाटा ल्याएर त्यसको सेवा दिने काम अहिले पनि कम्पनीले गरिरहेका छन्। यसैगरी भौगोलिक जानकारी दिने जिआइएस सेवा, बिपिओ, विभिन्नखाले सफ्टवेयर विकास, एप्स विकासलगायत काम गर्न सकिने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका सूचना प्रविधि समितिका संयोजक एवं कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लपमान सिंह प्रधानले नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकलाई परीक्षण केन्द्रकोरुपमा विकास गर्न सकिने बताए। 'हाम्रो मुलुकमा समुन्द्र सतहबाट सबैभन्दा कम उचाइदेखि सबैभन्दा बढी उचाइसम्मको भौगोलिक अवस्थिति छ,' उनले भने, 'यसैलाई उपयोग गरेर विभिन्न परीक्षण गर्न ठूला कम्पनीलाई आमन्त्रण गर्न सकिन्छ।'
यसैगरी यहाँको चिसो मौसमका कारण विभिन्न कम्पनीलाई डाटा सेन्टर बनाउन ल्याउन सकिने सम्भावनासमेत छ। 'अहिले क्लाउड कम्पिटिङको जमाना भइसक्यो,' प्रधानले भने, 'जसले पनि क्लाउडमा डाटा छाडेर प्रयोग गर्न थाले, यसले डाटा सेन्टरको सम्भावना बढेको छ।' क्लाउडमा छाडेको डाटालाई सुरक्षित गरेर राख्न ठूला सेन्टरको आवश्यकता पर्छ। नेपालभित्र यस्ता सेन्टर ल्याउन सकिने र विदेशीसमेत इच्छुक रहेको प्रधान बताउँछन्।
'जापानीहरुले केही वर्षदेखि नै यस्तो सेन्टरका लागि चासो देखाइरहेका छन्,' उनले भने, 'सरकारको स्पष्ट नीति नहुँदा समस्या छ।' नेपालमा सूचना प्रविधिको विकासका लागि भारतले जस्तै कर्पोरेट ट्याक्स होलिडे गर्नुपर्ने प्रधानको तर्क छ। 'भारतले सूचना प्रविधि क्षेत्रमा लगानी गर्नेलाई कर्पोरेट ट्याक्स होलिडे गरेर प्रोत्साहित गरेको हो,' उनले भने, 'हामीले किन गर्न नहुने?'/विष्णु पोखरेल

No comments:

Post a Comment