Thursday, November 22, 2012

आयो मिनी आइप्याड

स्मार्टफोन र ल्यापटप हुँदाहुँदै कुन मूर्खले पाँच सय डलर पर्ने प्याड किन्छ होला भन्नेहरुले गतिलै जवाफ पाइसके, साढे दुई वर्षमै एप्पलले १० करोड आइप्याड बेचिसक्यो। यसमा केही छ, र त यसले सबैलाई तान्दै लगेको छ। बजारमा यसैको सिको गर्दै आएका अरु मोडलहरुभन्दा यो निकै अगाडि छ। त्यसैले आइप्याडसँग प्रतिस्पर्धा आइप्याड मात्रैले गर्न सक्ने व्यंग्य पनि सही साबित हुँदै थियो।


तर बीचमा आइपुग्यो, किन्डलमा एकछत्र राज जमाइरहेको अमेजनको किन्डल फायर र सर्च इन्जिनका सम्राट गुगलको नेक्सस। त्यसो त यी दुईको प्रतिस्पर्धा आइप्याडसँग अरु विषयमा नभए पनि कम मूल्यका कारण भने एप्पल पनि झस्किन बाध्य भयो। किन्डल फायर र नेक्ससले आइप्याड चलाउने रहर हुनेहरुलाई गतिलै विकल्प प्रदान गर्यो। त्यो पनि सस्तो मूल्यमा। त्यही भएर एप्पलले पनि सस्तोमा नयाँ र सानो खालको आइप्याड ल्याउने हल्ला टेक बजारमा चलेको धेरै भइसकेको थियो। तर आइफोन फाइभ लगायतका सामान सार्वजनिक गर्ने समारोहमा आइप्याडको नामै लिइएन। आइफोन फाइभसँगै यसलाई सार्वजनिक गर्दा यो छायँामा पर्ने हुनाले त्यसो गरेको अनुमान गरियो। नभन्दै अस्ति महानवमिको दिन एप्पलले छुट्टै एउटा समारोह गर्दै मिनी आइप्याड सार्वजनिक गर्यो।



धेरै सस्तो छैन

यसअघिका अनुमानहरुलाई गलत साबित गर्दै मिनी आइप्याडको मूल्य त्यति सस्तो भने भएन। किन्डल फायर र नेक्सससँग प्रतिस्पर्धा गर्न एप्पलले साढे दुई सय डलरमै यसलाई बेच्न सक्ने अनुमान गरिएको थियो। तर यसको सुरुको मूल्य नै ३२९ डलर रहेको छ। आइप्याड २ भन्दा यो ७० डलर मात्रै सस्तो हो। आइप्याडको पछिल्लो संस्करणको मूल्य भने कम्तिमा ४९९ डलर पर्छ। ६४ जीबी भण्डारण क्षमता भएको एलटीईसहितको मिनी आइप्याडको मोडलको भने ६५९ डलर पर्छ।

एप्पलले मिनि आइप्याडलाई चाहेर पनि धेरै सस्तो बनाउन भने सक्दैन थियो। किनभने उसले आइपड टचलाई नै ३२ जीबीको २९९ डलरमा बेचिरहेको छ। आइपड टचभन्दा सस्तो आइप्याड मिनी बनाउँदा आफ्नै उत्पादन छायाँमा पर्ने डर हुन्थ्यो उसलाई। त्यसैले पनि ३२९ डलर त उसले बाध्य भएरै राख्नु परेको हो। उता नेक्सस वा किन्डल फायर एचडीको मूल्य भने १९९ डलर मात्रै हो।

के फरक छ?

आइप्याड २ भन्दा ७० डलर मात्रै सस्तो हो भने यसलाई कसले किन्छ त? के यो आइप्याडको ठूलो संस्करणको सानो स्वरुप मात्रै हो? हैन, यसमा अरु प्रतिस्पर्धी उत्पादनहरुभन्दा धेरै सुविधा राखिएको छ। यसको पछाडिको क्यामेरा पाँच मेगापिक्सेलको हो। अनि यसको डिस्प्ले अरुको तुलनामा ठूलो छ अर्थात् ७.९ इञ्च। अनि यो पातलो पनि छ ०.२८ इञ्च। चिप भने आइप्याड २ कै डुअल कोर ए फाइभ यसमा राखिएको छ।

आइप्याड २ भन्दा बढी क्षमताको फेसटाइम क्यामेराले १.२ एमपीको फोटो, बढी क्षमताको ७२० पीको एचडी भिडियो यसले खिच्छ। आइप्याड २ को फेसटाइम क्यामेराले भने भीजीए रेजोल्युसनको फोटो र भिडियो मात्रै खिच्छ।

आइप्याड २ मा नभएको आइ साइट क्यामेरा पनि मिनीमा छ जसले पाँच एमपीको फोटो खिच्छ। भिडियो रेकर्डिंगको कुरा गर्ने हो भने आइप्याड २ भन्दा धेरै सुविधा मिनीमा छ। आइप्याड २ ले ७२० पीको एचडी भिडियो मात्रै खिच्छ। तर मिनीले १०८० पीको भिडियो मात्रै खिच्दैन, भिडियो स्टेबलाइजेसन, फेस डिटेक्सन, ब्याकसाइड इलुमिनेसन सबै सुविधा दिन्छ। यी सुविधा न्यूनतम ४९९ डलर पर्ने रेटिना डिस्प्लेसहितको आइप्याड जस्तै नै हो।

यसमा सिम भने नानो सिम लाग्छ। यसअगाडिका मोडलहरुमा माइक्रो सिम लाग्थ्यो। चार्ज गर्नका लागि लाइटनिंग कनेक्टर यसमा लाग्छ। आइप्याड २ मा नभएको सिरीको सुविधा यसमा भने छ।

नेपालमा कति पर्छ?

नेपालमा एप्पलका सामान बेच्ने पसलहरुले म्याक कम्प्युटर, ल्यापटप र आइपड मात्रै बेच्छ। आइप्याड बेच्ने गर्दैन। विदेशबाट ल्याएर अनधिकृत रुपमा बेच्नेहरुले केही बढी मूल्यमा यो बेच्ने गर्छ। अमेरिकाबाट नेपाली रुपियाँ दिएर सामान मगाउन मिल्ने हरिलो डट कमजस्ता साइटले आइप्याड मिनीका लागि ३९ हजार ४८३ रुपियाँ लाग्ने बताएको छ । एजेन्सी/नागरिक

No comments:

Post a Comment