Thursday, December 13, 2012

यो लुगा लगाएपछि अदृश्य भइन्छ

क्यानाडाको एक कम्पनी हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसनले अदृश्य कपडा निर्माण गरेको दाबी गरेको छ। 'क्वान्टम स्टिल्थ' नामकरण गरिएको अदृश्य कपडा निर्माणमा अमेरिकी रक्षा विभाग पेन्टागनले सहयोग गरिरहेको कम्पनीले जनाएको छ।

 जेके रोलिङको प्रसिद्ध 'ह्यारी पोर्टर' सृखंलामा निर्मित बहुचर्चित फिल्ममा देखाएजस्तै अदृश्य लबेदा (इनभिजिबल क्लोक) ओढेपछि लगाउने व्यक्ति नदेखिने दाबी कम्पनीले गरेको छ।
खासगरी युद्धमैदानमा तैनाथ सैनिकलाई ध्यान राखि यस्तो कपडा निर्माण गर्न कम्पनी लागिपरेको छ। अदृश्य कपडा निर्माण योजनामा अमेरिकाली र क्यानाडाली सेनाले चासो देखाएका छन्। कम्पनीका अनुसार यो कपडाले प्रकाशलाई बंग्याउने भएकाले लगाउने व्यक्ति अदृश्य हुन्छ।
बेलायती अखबार डेली मेलको रिपोर्टमा अदृश्य लबेदा निर्माता कम्पनीलाई उधृत गर्दै अदृश्य कपडाले यसमा पर्ने प्रकाशका किरण परावर्तन गर्दैन। यसको निर्माणमा प्रयोग गरिएको पदार्थले राती/अँध्यारोमा हेर्न सकिने इन्फ्रारेड चश्मालाई समेत झुक्याउन सक्छ।
अदृश्य कपडा निर्माण गरिरहेको कम्पनी हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसनले यो योजना अत्यन्त गोप्य भएकाले निर्माणमा प्रयुक्त प्रविधिलगायत विस्तृत सार्वजनिक जानकारी दिन नसकिने जनाएको छ। कोअपरेसनका प्रमुख कार्यकारी अधिकृत गाइ क्रेमरले कपडाको प्रभावकारितामा शंका गर्नेको कुनै चिन्ता नरहेको बताएका छन्। क्रेमरका अनुसार कपडाबारे थाहा पाउनु पर्नेलाई सत्यतथ्य थाहा भएकाले उनलाई अरुको बालै मतलव छैन।
अदृश्य कपडा निर्माण योजनालाई अमेरिकाली सेना र क्यानाडाली सेनाका दुई समूहबाहेक अमेरिकाको प्रतिआतंकवाद हेर्ने फेडरल इमर्जेन्सी रेस्पोन्स टीमले कपडा निर्माण गरिने वास्तविक पदार्थ देखेको क्रेमरले बताएका छन्।
क्रेमरका अनुसार दिउँसै शत्रुको भूभागमा राडार, नांगो आँखाबाट अदृश्य रहेर हमला गर्नु ठूलो उपलब्धी हुनेछ। अमेरिकाली समाचार संस्था सिएनएनले हालैमात्र क्रेमरसँग अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्ता र सञ्चारमाध्यममा यसबारे थुप्रै समाचार आएपछि अमेरिकाली सेनाले कम्पनीसँग कपडाबारे सोधिखोजी गरेको थियो।
 स्रोत : नागरिक दैनिक 

No comments:

Post a Comment