Tuesday, December 4, 2012

अवैध चिनियाँ सेट बढे

चिनियाँ मोबाइल सेटको अवैध आयात बढेको छ। काठमाडौं नजिकैको चिनियाँ सिमासँग जोडिएको तातोपानीबाट काठमाडौं आउने सडकमा प्रहरी र राजश्व गस्तीको उपस्थिती बाक्लै भएपनि अवैध सेट भित्रने क्रम भने बढिरहेको छ। अवैध सेट ल्याउने सोझोबाटो मानिने अरनिको राजमार्गको एकसय १४ किलोमिटरमा मात्र ११ प्रहरी चौकी रहेका छन्। प्रहरीले यात्रु तथा मालवाहक सवारीसाधनमा समय समयमा चेक जाँच गरेपनि अवैध मोबाइल सेट भित्रने क्रम भने घटेको छैन।

सरकारी तथ्यांक अनुसार ११ हजार ६ सय मोबाइल सेट मात्र तातोपानी भन्सारबाट नेपाल आयात भएको छ। यो पछिल्लो चार महिनाको तथ्यांक हो। तर सोही बाटो भएर एकलाख तीन हजार सेट उक्त समयमा काठमाडौं भित्रिएको अनुमान भन्सार अधिकारीले गरेका छन्। तातोपानी भन्सारका एक अधिकारीले काठमाडौंमा बेचिने चिनियाँ मोबाइल मध्ये ६० प्रतिशत भन्दा बढी भन्सार छलेर लगेका हुने बताए। केही समय अगाडि मात्र प्रहरीले चार हजार भन्सार छलेर भित्र्याइएका मोबाइल लार्चा, लामोसाँघु र बाह्रविसेबाट समातेको थियो। गतवर्षमात्र तातोपानी नाका हुँदै तीन लाख चिनियाँ मोबाइल सेट अवैध रुपमा काठमाठौं भित्रिएको अनुमान गरिन्छ।
अवैध रुपमा आयात गरिएका मोबाइल सेट यात्रुवाहक बस, सामान ओसार्ने कन्टेनर र मोटरसाइकलमा ढुवानी गरेर काठमाडौं पुरयाउने गरिन्छ। गत वर्षप्रहरीले अवैध मोबाइल सेट सहित तीन यात्रुवाहक बस र एक भ्यान समातेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा बेचिने जुनसुकै मोबाइल सेटका लागि पनि टाइप एप्रोभल लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। टाइप एप्रोभलले मोबाइल सेटको गुणस्तर प्रमाणित गर्छ। जुन पाउनका लागि मोबाइलको प्राविधिक परिक्षणको प्रमाण पेश गर्नुपर्छ। आधिकारीक बिक्रेता, आधिकारिक मर्मत केन्द्र लगायत बिक्रि पछिको जवाफदेयिता पनि टाइप अप्रोभलले सुनिश्चित गर्छ।

No comments:

Post a Comment