Wednesday, December 12, 2012

फोन काण्ड/माफी मागे सञ्चालकले

  • अष्ट्रेलियन रेडियो अझै समस्यामा

    नियमित कार्यक्रममा हसिमजाकमा गरिएको एक फोनकलका कारण उब्जिएको समस्याले अष्ट्रेलियाको रेडियो टुडे एफएम अझै समस्याबाट बाहिरिन सकेको छैन् । कार्यक्रमका सञ्चालकद्धयले घटना भएको करिब एक सातापछि सार्वजनिक रुपमा माफी मागेपनि समस्याले अझैपनि निकास पाउन सकेको छैन् ।

यहाँ प्रसिद्ध रहेको रेडियो टुडे एफएमले नियमित कार्यक्रम समर हट ३० काउण्टडाउन अन्तरगत बेलायती राजकुमारी अस्पतालमा भर्ना भएको समयमा ठट्टाको लागि भनेर गरिएको एक फोनकलले बेलायतमा एक महिला नर्सले आत्महत्या गरेपछि समस्या बल्झिएको हो ।

कार्यक्रम सञ्चालकद्धय माइकल क्रिस्टियान र मेल ग्रेगले आफ्नो नियमित कार्यक्रममा महारानी एलिजावेथ र प्रिन्स चार्ल्र्स बनेर नर्सलाई फोन गरि राजकुमारी केटको स्वास्थ्यस्थितीको जानकारी लिएका थिए । ‘तर, जे भयो यो हामीले सोचेभन्दा बाहिर थियो र हाम्रो उद्देश्य यस्तो होस भन्ने कदापी थिएन’ स्थानीय टेलिभिजन कार्यक्रममा सोमबार साँझ सार्वजनिक हुँदै उनीहरुले भने, 'हामी जे भयो त्यसका लागि क्षमा चाहन्छौ ।'
एफएमको सञ्चालक सँस्था साउदर्नक्रस अष्टेरियोका प्रमुख कार्यकारी निर्देशक रायस होलेसले यो नियमित कार्यक्रम भएको र यस कार्यक्रममार्फत कुनै पनि सञ्चारसम्बन्धि नियम र कानुन नतोडिएको बताउँदै आएका छन् । तरपनि उक्त सँस्थाले एफएममा बज्ने बिज्ञापनहरुलाई केही समयका लागि बन्द गरेको छ । टुडे एफएमले यसपहिले पनि कार्यक्रममा गरिएको फोन कलकै कारण समस्या ब्योहोरिसकेको छ । बेलायतको किङ्ग एडवार्ड सातौं अस्पतालमा काम गर्ने नर्स दुई बच्चाकी आमा जासिन्था सालडानाले आत्महत्या गरेपछि यो समस्या यहाँसम्म चर्किएको हो । अहिले अष्ट्रेलियाका हरेक मिडियाहरुमा यही फोनकलको बारेमा चर्चा हुने गरेको छ भने यस घटनापछि यहाँको मिडिया कानुनमा हेरफेर हुनसक्ने अनुमान पनि गरिएको छ ।
घटनालाई लिएर अष्ट्रेलिया र बेलायतका साथै बिश्वभरि बिभिन्न प्रतिक्रियाहरु आइहरेका छन् । कसैले घटनाको दोषी कार्यक्रम सञ्चालकहरुलाई लगाउँदै आएका छन भने केहीले यो विश्वभरका रेडियोले सञ्चालन गर्ने कार्यक्रम भएकोले दुखद सँयोग मात्र भएको बताएका छन् । घटना घटिसकेपछि गोप्य स्थानमा रहेका कार्यक्रम सञ्चालकहरुले सार्वजनिक कार्यक्रम मार्फत घटनाप्रति दुख मात्र ब्यक्त गरेनन् कि यो परिणाम आउने कदापी नसोचिएको बताए । कार्यक्रम सञ्चालिक मेलले त आफु उनका छोराछोरीलाई भेटेर अँगालो मारेर क्षमा माग्न चाहेको बताएकी थिइन् ।
यता यस्तो घटना घटेपछि अष्टेरियोले आफ्नो मिडियाहरुमा गरिने यसप्रकारका सबै हँसिमजाकका फोनकलहरुलाई बन्द गरिसकेको छ । यसैगरि उक्त अस्पतालका कार्यकारी प्रमुख लर्ड ग्लेनरथरलाई एक पत्र लेख्दै अष्टेरियो प्रमुख होलेसले घटनाप्रति आफुहरु अत्यन्तै दुखी रहेको र अस्पतालले गर्ने हरेक अनुसन्धानलाई सहयोग पुर्याउने बताएका छन् । यसका साथै यसबारेमा आफुहरुले पनि तत्काल कदम चाली आफ्नो सञ्चार सम्बन्धि प्रक्रियाहरुलाई पुर्नमुल्याँकन गर्ने प्रतिबद्धता जनाएका छन् । भारत मुल घर भएर एक दशकअघि बेलायतमा आएकी सालडाना उक्त अस्पतालमा बिगत ४ बषदेखि कार्यरत रहेको बिभिन्न समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
नारायण खड्का  / इकान्तिपुर 

No comments:

Post a Comment